काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा नेकपा (एकीकृत समाजवादी) को आफ्नो छुट्टै पहिचान स्थापित भइसकेको बताएका छन्।
वीरगन्जमा आइतबार आयोजित एकीकृत समाजवादी पर्साको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने,‘नेकपा (एकीकृत समाजवादी) नेपालको राजनीतिमा स्थापित दल भइसकेको छ। यो पार्टीको आफ्नो एउटा पहिचान छ। यो पार्टी शानका साथ नेपालको राजनीतिमा उभिएको छ। यो पार्टीको आफ्नै इज्जत ,मान र सम्मान छ।’
उनले नेपाल राष्ट्रको एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै राज्यले पनि सम्मान गर्नुपर्नेमा जोड दिए। उनले भने,‘देशको हितमा काम गरेकाहरूलाई राज्य र दलहरूले संकीर्ण सोच त्यागेर सम्मान गर्न सक्नुपर्छ, गर्नुपर्छ पनि।’
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने,‘माधव नेपालको अनुहारपनि हेर्न मन लाग्दैन भन्ने व्यक्ति नै सत्ता र कुर्सी चाहिएका बेला भने दौडेर म कहाँ आउनुपर्यो।’ तर आफूले कोहीप्रति घृणाको भाव नराखेको उनले सुनाए। नेपालले भने,‘जस्तो बीउ रोप्यो फलपनि त्यस्तै फल्छ। जसले घृणाको बीउ रोप्छ फलमा पनि घृणा नै पाउँछ।’
दुई ठूला शक्ति राष्ट्र चीन र भारतको बीचमा रहेको नेपाल क्षेत्रफल सानो भएपनि नेपालको आफ्नो छुट्टै इज्जत,प्रतिष्ठा र स्वाभिमान रहेको धारणा उनले राखे।
हरेक राजनीतिक दलले नेपाल र नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिँदै उनले अमेरिका,रुस,चीन,भारत लगायतका देशका सरकार प्रमुखसँग नेपालको हित र प्रतिष्ठा बढाउनका लागि आफूले संवाद र छलफल गरेको उनले सुनाए।
जनताको विश्वास र समर्थन प्राप्त गरे मात्रै पार्टी बलियो हुने भन्दै उनले जनताको विश्वास र समर्थन पाउनका लागि कार्यकर्ताले मेहनत गर्न आवश्यक भएको बताए। उनले भने,‘जुन दलका नेता कार्यकर्ता जनताको माझमा गएर उनीहरूका पिडा, बेदना र समस्या सुन्छन्। ती दललाई नै जनताको समर्थन र साथ प्राप्त हुन्छ। यसका लागि जनताको माझमा जान म नेता कार्यकर्ताहरूलाई आग्रह गर्छु।’