काठमाडौँ । चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस), मुख्य कलाकार विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु प्रस्तुत छन् ।
नेताको भूमिकामा रहेका सितारामलाई दोरा–सुरुवाल र ज्वारीकोटमा देखाइएको छ । उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ । उनको लुक्सले पूर्वमन्त्री तथा काँग्रेस नेता मोहम्मद आफताव आलमलाई झल्काएको अनुमान गरिएको छ ।
‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो। यसमा अर्जुन घिमिरे(पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन्।
चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका छन्। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।
यो चलचित्र फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएको छ।







