काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र कुनै समस्या नभएको प्रष्टीकरण दिएका छन् ।
अखिल क्रान्तिकारीको निर्वाचनमा उपमहासचिव जनार्दन शर्मा पक्ष हाबी भएको तरंग माओवादी वृत्तमा चलिरहेको बेलामा म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय समिति एक ढिक्का रहेको बताए ।
उनले भने, ‘हामीले पार्टी एकता कायम राख्न सकेनौँ, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौँ । म अन्तर आत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने संकल्पका साथ अघि बढेका छौँ । आखिर हाम्रो तागत जनताको तागत नै हो । हामी हिजो जंगलमा थिएनौँ, जनताको काखमा थियौँ । अहिले हामी जंगलमा भयौँ, काठमाडौँको जंगलमा । जाली फटाहा, पुँजीपतिहरूको बीचमा । त्यहाँ पनि मजदुर र किसान छन् । ती समुदायसँग सम्बन्ध स्थापित गर्ने र जनतातिर फर्कने कसम खाएर म देशभर हिँडिरहेको छु र अब हाम्रो सिंगो पार्टी हिँड्दै छ । तपाईँहरूले कहिलेकाहीँ पत्रिका, रेडियो, टिभीमा हेर्नुहुन्छ, सुन्नुहुन्छ होला, लौ यो पार्टीमा त के के हुन लाग्यो, त्यस्तो केही हुनेवाला छैन । हाम्रो केन्द्रीय समिति एक ढिक्का छ । छिट्टै माओवादी जतिलाई एकताबद्ध गरिँदै छ । हेर्नुहोला, सबै फुटेका माओवादीलाई एकै ठाउँमा ल्याउने काम गर्दै छौंं, गर्छौँ पनि । समाजवादीहरूलाई पनि एकै ठाउँमा ल्याउने काम गर्दैछौं । अब हामीले तपाईँहरूको बीचमा केही त्रुटि त गरेकै हौँ । तैपनि हाम्रै छोराछोरी हौँ भनिदिनुपर्यो । तपाईँले त्यसो भनिदिनुभयो भने २०६४ होइन, २०८४ मा त्योभन्दा पनि राम्रो गर्नसक्छौं ।’