काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।
आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको भन्दै त्यसको लागि तयारी अवस्थामा बस्नुपर्नेमा उनको जोड छ ।
उनले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल शुरु गर्नुपर्ने अवस्था आउन सक्ने समेत बताए । अध्यक्ष ओलीले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट परिवर्तन सम्भव हुने बताए ।
एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको उल्लेख गरे । उनले अहिले पनि नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति नेकपा एमाले भएको जिकिर समेत गरे । उनले नागरिकमा बेचैनी र निराशा बढ्दै गइरहेको भन्दै यस्तो अवस्थामा नेकपा (एमाले) वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा जानुपर्ने बताए ।
उनले भने, ‘हाम्रो पार्टीको केन्द्रिय कमिटीले हाम्रो अगाडि दुई वटा महत्वपूर्ण कार्यभार रहेको छ भनेर भनेको छ । एउटा, हामीले आवश्यकता अनुसार आन्दोलन गर्नुपर्ने हुन्छ, आन्दोलनको तयारीको मानसिकताका साथ साथीहरू सधैँ हरदम तयार हुनुहोला । आन्दोलन सधैँ लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ । उहिले १९१७ मा रुसमा दुई दिनको ठूलो विद्रोहबाट सत्ता उलटफेर भएको थियो । कहीँ विद्रोहबाट, कहीँ निर्वाचनबाट कहीँ जनविद्रोहबाट भने कहीँ उपद्रवबाट उलटफेर हुँदो रहेछ भन्ने हामीले हेरेका छौँ । मानिसहरूलाई राज्य संयन्त्रको प्रयोगलाई पृष्ठभागमा राखेर उपद्रवकारीहरुलाई अग्रभागमा सारेर परिवर्तन हुँदा रहेछन् । तसर्थ कुनै पनि समयमा आन्दोलनमा जानुपर्छ साथीहरू त्यसको तयारीमा जुट्नुहोला । मानसिक रूपले पनि तयार रहनुहोला । हामी अप्ठ्याराहरूसँग जुधेर आउने बानी परेको छ । जाडोमा हिमालमा तपस्या गर्ने तपस्वी जस्तो, गर्मीमा तराईका धूपमा गएर आगो बाले तपस्या गर्ने तपस्वी जस्तो हिउँले पोलेपनि, आगोले पोलेपनि तपस्या गर्ने र आफ्नो तप् पूरा गर्ने बानी परेका छौँ हामी । हामीमाथि के गरिएन ? आज मात्र होइन हामीलाई उहिलेदेखि नै सिध्याउन खोजिएको हो । पञ्चायत कालमा, राजा महेन्द्रको शासन कालमा हामीलाई सिध्याउन खोजियो । त्यही कारण हामीले झापामा पार्टीलाई पुनर्गठन गरेर आज यहाँसम्म ल्याइपुर्याएका छौँ ।’
उनले केहीले निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको भन्दै नेकपा (एमाले) पार्टी बनाउन नभई पार्टी लिएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।





