काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देश विकासका लागि नेपाली काँग्रेस र नेकपा एमाले मिलेको जिकिर गरेका छन् ।
केही नेतालाई प्रधानमन्त्री र मन्त्री बनाउनका लागि मात्रै काँग्रेस-एमाले नमिलेको भन्दै उनले देश विकासका लागि स्थिर सरकार आवश्यक हुने भएकोले काँग्रेस-एमाले मिलेको दाबी गरे ।
‘अहिलेको समीकरण केही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउन मात्रै बनेको होइन,’ गृहमन्त्री लेखकले भने, ‘हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस् र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्नतिको यात्रामा अघि बढाउन सकियोस् भनेर बनाएका हौँ ।’
शुक्रबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको ८औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन् ।