काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन् ।
आइतबार धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित जनभेटघाटलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।
‘हिजो केही त्रुटि गर्यौँ । अलि पहिल्यै आउनुपर्थ्यो हामी-तपाईंहरुका पिर मर्का के छन भन्ने जनयुद्धको बेलामा जस्तै जनआन्दोलनको बेलामा जस्तै सुन्नु पर्ने थियो । त्यो कुरा सदनमा उठाउनुपर्थ्यो । सडकमा लैजानुपर्ने थियो । अलिकति त्यहाँ चुकेकै छौँ’ उनले भने । विगतबाट पाठ सिकेर जनताको कुरा सुन्ने अभियानमा रहेको भन्दै उनले आगामी दिनमा नियमित रूपमा जनतासँग रहने बताए ।
जनताको कुरा सुनेर त्यसअनुसार राज्य सञ्चालनमा भूमिका खेल्नका लागि जनताको साथ पनि चाहिएको उनले बताए । सरकारमा रहेर काम गर्न खोज्दा खोज्दै संख्याका कारण सरकारमा रहन नसकेको पनि उनले बताए । आफू नेतृत्वको सरकारले कर्णालीलाई, मधेशलाई र सुदूरपश्चिमलाई उच्च प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएको उनले बताए ।
‘राम्रो गर्न खोज्दा खोज्दै यो देशका लाल पुँजीपतिहरू, नोकरशाहरू भन्छौँ हामी ठूलो ठूलो नोकरी गरेर जनतालाई शोषण गर्नेहरू, बिचौलिया ठगहरू यी सबै मिलेर हामीले जनता र राष्ट्रको पक्षमा काम गर्दा गर्दै हामीलाई सरकारबाट संख्याको कारणले हटाए’ ‘प्रचण्डले भने ।
आफू नेतृत्वको पार्टीलाई पुनः सरकारमा जान जनताको मत चाहिएको उनले बताए । ‘विशेष रूपले अनुरोध गर्न चाहन्छु- हामीलाई संसदमा संख्या चाहियो । हामीलाई तपाईँहरूको मत चाहियो ।’
प्रचण्डले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको पनि बताए । मधेसी जनताको मुक्तिका लागि ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै ‘प्रचण्ड’ले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए ।