तनहुँ । सूर्य नेपाल प्रालिले दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्स सहयोग गरेको हो ।
दुई पालिकालाई रु. २६ लाख मूल्यका एक-एक थान कृषि एम्बुलेन्स हस्तान्तरण गरेको प्रालिका मानव संशाधन विभाग प्रमुख अन्जान दुवाडीले जानकारी दिए । नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई प्रमुख दुवाडीले एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले आफूहरूको सहयोगपश्चात् स्थानीय सरकारले कृषि क्षेत्रमा काम गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख पण्डितले अब गाउँ गाउँमा बारअनुसार तालिका बनाएर कृषि उपज संकलन गरी बेलचौतारामा निर्माण गरिएको कृषि संकलन केन्द्र सञ्चालनमा ल्याइने बताए । किसानले न्यूनतम मूल्यमा कृषि एम्बुलेन्स प्रयोग गर्न पाउने भएकाले व्यावसायिक कृषि उत्पादनमा जोड दिन उनले आग्रह गरेका छन् ।
नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले केन्द्र सञ्चालक लागि महत्त्वपूर्ण सहयोग प्राप्त भएको जानकारी दिँदै केन्द्र सञ्चालन कार्यविधि तयार रहेको बताए । उनले गाउँ गाउँमा रहेको सामुदायिक भवनलाई कृषि संकलन केन्द्रका रूपमा विकास गरी कृषि उपज बजार ल्याउन कृषि एम्बुलेन्स प्रयोग गरिने बताए ।