काठमाडौँ । निजामती कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीको पदभार तथा निवर्तमान कार्यकारी निर्देशक प्रा. डा. विद्यानिधि पौडेलको बिदाइ समारोहमा अस्पताललाई अब छुट्टै ऐनबाट सञ्चालन गर्नुपर्ने जोड दिइएको हो ।
निवर्तमान कार्यकारी निर्देशक प्रा. डा. पौडेलले गठन आदेशबाट अस्पताल सञ्चालन गर्दा विभिन्न कठिनाई हुने भएकाले अब अस्पतालका लागि छुट्टै ऐन बनाउनुपर्ने बताए ।
निजामती कर्मचारी अस्पताल गठन आदेश २०६४ बाट सञ्चालनमा रहेको र उक्त गठन आदेशलाई ऐनमा र विनियम वलीलाई स्वास्थ्य सेवासँग मिल्ने गरी परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।
प्रा. डा. पौडेलले आफ्नो चार वर्षे कार्यकालमा अस्पताललाई नाफामा लगेको, नयाँ मेसिनबाट रेडियोथेरापी सेवा सुरु गरी उत्कृष्ट क्यान्सर उपचार सेवा प्रदान गरिएको बताए ।
नवनियुक्त कार्यकारी निर्देशक प्रा. डा. रेग्मीले अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
विसं २०६७ माघदेखि बहिरङग, अन्तरंग र शल्यक्रिया सुरु गरेको अस्पताल अहिले तीन सय शय्यामा सञ्चालन भइरहेको छ ।