काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गणतन्त्रवादीहरूको राजनीतिक सम्मेलन गर्ने प्रस्ताव अघि सारेको छ ।
राजावादीहरूले अराजक र हिंसात्मक ढंगले व्यवस्थाविरुद्ध आन्दोलन गर्न खोजेको भन्दै गणतन्त्रवादी शक्तिहरूको गोलमेच सम्मेलन प्रस्ताव गरेको हो ।
शुक्रबार मूलधारका मिडियाका सम्पादकहरूसँगको छलफलमा नेकपा एसका महासचिव घनश्याम भुसालले राजनीतिक दलकै कमजोरी र नेतृत्वको नालायकीमा टेकेर प्रतिगामी तत्त्वहरू देशलाई पछि धकेल्ने प्रयत्नमा लागेकाले राजनीतिक सम्मेलनको प्रस्ताव गरेको बताए ।
भुसालले भने-‘गणतन्त्रमाथि ऐठन देखिएको छ । हाम्रा नालायकीले पनि काम गरेका होलान् । तर समाजलाई यहाँबाट अगाडि बढाउने हो, पछाडि फर्काउने प्रयत्नविरुद्ध सबै गणतन्त्रवादीहरूको राजनीतिक सम्मेलन गरौँ भन्ने प्रस्ताव हामी चाँडै सरकारसमक्ष औपचारिक रूपमा राख्नेछौँ । सबै पक्षसँग छलफल गरेर साझा धारणा बनाएपछि पार्टीको तर्फबाट वैशाख ५ गतेसम्म लिखित सुझावसहितको प्रस्ताव पेश गर्ने सोचमा छौँ ।’
महासचिव भुसालले सार्वजनिक पद धारण गरेका र राजनीतिक दलका नेताहरूको सम्पत्ति छानबिन गर्ने आयोग गठनको प्रस्ताव समेत राख्न लागिएको बताए । उनले रोजगारी र सुशासनको लागि अब नयाँ ढंगको आन्दोलन आवश्यक रहेको समेत बताए ।







