काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि पोखेका छन् । अहिलेको देशको परिस्थिति अत्यन्तै नाजुक रहेको उनको टिप्पणी छ ।
साहित्यिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको सर्जक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ अनाख्यानको लोकार्पण कार्यक्रममा कोइरालाले देशको राजनीति, आर्थिकलगायतका क्षेत्र अत्यन्तै नाजुक रहेको बताए । बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएको उनको जिकिर छ ।
कोइरालाले काँग्रेस-एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिए पनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको उनको भनाइ छ । राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै कोइरालाले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने बताए ।
‘नेपालको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ । मुलुकको सुशासन कस्तो अवस्थामा छ भन्ने कुरा स्पष्ट छ । गठबन्धनको औचित्य साबित हुन सकेको छैन’, उनले भने ।
कोइरालाले राजनीतिक इच्छाशक्ति भए देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सकिने धारणा धारणा राखेका छन् ।