काठमाडौँ । सत्तारुढ काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।
सत्तारुढ दलको नेता हुनुका नाताले सरकारलाई सहयोग गरेको तर सरकारमा रहेकाहरूका कारण नै काम हुन नसकेको थापाको भनाइ छ ।
काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा थापाले प्रधानमन्त्री र मन्त्रीले आ–आफ्नो काम गर्नुपर्नेमा त्यसो हुन नसकेको पनि बताएका छन् । सत्तारुढ दलका राजनीतिक संयन्त्रले भनेको कुरा सरकारले नटेर्ने गरेको उनले सुनाए ।
‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो, त्यो गतिमा काम हुन सकिरहेको छैन । म पनि संयन्त्रको जिम्मेवारीमा छु, कहिलेकाहीँ साथीहरूलाई लाग्छ-संयन्त्रले सबै कुरा गर्छ । यसबारे कम्तीमा मेरो क्षेत्रका साथीहरू क्लियर हुनुपर्छ । सरकारले गर्ने काम सरकारले गर्नुपर्छ, संयन्त्रले होइन । नियुक्ति, सरुवा बढुवाको काम पनि राजनीतिक संयन्त्रले गर्नुपर्छ भनेर ठान्यौँ भने त यो लोकतान्त्रिक सरकार नै भएन नि ! थापाले भने, ‘प्रधानमन्त्रीको काम प्रधानमन्त्री र मन्त्रीको काम मन्त्रीले गर्ने हो । संयन्त्रको काम सरकारले लिने र नीतिगत सुधारको विषयमा बल पुर्याउने हो । केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर हामीले सहयोग गरिरहेका छौँ । तर बिँड मात्र तातेर केही नहुँदो रहेछ, ताप्के पनि तात्नुपर्ने रहेछ ।’
मन्त्रीहरूलाई काम चाहिएको छ भन्दा पनि नभइरहेको थापाको भनाइ थियो ।