काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो शुभकामना सन्देशप्रति आपत्ति जनाएको छ । पूर्वराजाको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा अझै जीवितै रहेको निष्कर्षसमेत एमालेले निकालेको छ ।
आज बसेको केन्द्रीय सचिवालयको ४८ औँ बैठकले सो निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारसँग बोल्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले चैत १५ गतेको आपराधिक घटनालाई ‘जनतामा आएको जागरणको रूपमा व्यक्त गर्न खोजिएको भन्दै’, आपत्ति जनाए ।
उनले भने, ‘हिजो मात्रै सन्देश बाहिर आएको छ, त्यो अभिव्यक्ति हेर्दा उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धिहरूलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौँ । त्यो गलत कुरा हो । चैत १५ गते अपराधिक घटनालाई जनतामा आएको जागरणको रूपमा व्यक्त गर्नुभयो । सर्वसाधारणको घरमा लुटपाट, तोडफोड र विध्वंस नै उहाँले खोजेको जागरण हो भने त्यो धेरै आपत्तिजनक हो ।’
बैठकले यस्ता खालका क्रियाकलाप नगर्न भनेको ज्ञवालीले जानकारी दिए । लोकतान्त्रिक गणतन्त्रको कोर्स उल्टाउने प्रयास कहीँबाट पनि नहोस् भनेर बैठकले ध्यानाकर्षण गरेको उनले बताए ।