काठमाडौँ। लुम्बिनी प्रदेशस्थित नेपालगन्जको भेरी अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा मंगलबार दुई जनाको मिर्गौला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
डा. श्रेष्ठका अनुसार महोत्तरीका ४० वर्षीय पुरुष र बर्दियाका ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । महोत्तरीका पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले मिर्गौला दान दिएकी हुन् भने बर्दियाका पुरुषलाई पनि उनकी २६ वर्षीया श्रीमतीले मिर्गौला दान दिएकी हुन् ।
डा. पुकारको नेतृत्वमा राष्ट्रिय प्रत्यारोपण केन्द्रको टिम र भेरी अस्पतालको टिमले मिर्गौला प्रत्यारोपण गरेको हो । केन्द्रबाट डा. दिपेश श्रेष्ठ, डा. हरि बराल, एनेस्थेसियोलोजिस्ट डा. शोभित थापा, डा. शिवसुन्दर राजचल, नेफ्रोलोजिस्ट डा. विक्रम वीर बज्राचार्यको सहभागिता थियो ।