काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु धेरै नभएको निष्कर्ष निकालेको छ ।
आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली सरकार सत्तारुढ दलभित्रकै अन्तर्विरोधको कारणले ढल्ने परिस्थितिमा पुगिसकेको ब्रिफिङ गरेको हुन् ।
बैठकमा ‘प्रचण्ड’ले भने, ‘देउवाजी अहिले थाइल्याण्ड जानुभएको छ । उहाँ फर्किएपछि औपचारिक कुराकानी हुन्छ । उहाँ जानुअघि पनि सामान्य कुराकानी त भएको छ । थप छलफल चाहिँ फर्किएर आइसकेपछि औपचारिक कुराकानी हुन्छ ।’
उनले बैठकमा आफूहरू सरकारमा जाने भन्दा पनि सरकारबाहिर बसेर काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्नेमा जोड रहेको बताए ।
उनले भने, ‘हामीले सरकारबाहिर बसेर समर्थन गर्ने कुरामा जोड दिएका छौँ । तर, उहाँहरूले सरकारमै सामेल हुनुपर्छ भन्ने खालको प्रारम्भिक कुराकानी भएको छ । यो सरकार उनीहरूबीचको आन्तरिक अन्तरविरोधकै कारणले ढल्ने देखिन्छ । हामीले ढाल्न खोजेर होइन । काँग्रेस-एमालेभित्र अहिले अन्तर्विरोध चुलिएको छ । बजेटसम्म पुग्दा क्लाइमेक्समा पुग्छ । गभर्नर नियुक्ति पनि अड्किरहेको छ । त्यसैले उहाँहरूबीचको स्वार्थको कारणले सरकार ढल्ने देखिन्छ ।’