काठमाडौँ । नेपाल चिकित्सक संघ, कोशी शाखाले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ज्ञापन पत्र बुझाइएको चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा. बालकृष्ण साहले जानकारी दिएका छन् ।
डा. शाहका अनुसार संघका अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव डा. बालकृष्ण साह, तथा अन्य पदाधिकारीसँगै आवासीय चिकित्सक र मेडिकल अफिसरसहितको टोली मोरङ जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको हो ।
चिकित्सक संघको संशनिहाटस्थित कार्यालयबाट र्यालीसहित चिकित्सकको टोलीले ज्ञापन पत्र बुझाउनुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो । त्यसैगरी चिकित्सक संघ कोशी प्रदेशका प्रतिनिधि र इनरुवा अस्पतालका चिकित्सकसहितको टोलीले सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए।
ज्ञापन पत्रमा संघले सरकारसँग तीन प्रमुख मागहरू राखेको छ ।
पहिलो माग आवासीय चिकित्सकलाई आठौँ तहका चिकित्सक सरहको सेवा, सुविधासहित निर्वाह भत्ता दिने भनी गरिएको निर्णय निजी मेडिकल कलेजमा समेत लागू गर्नुपर्ने रहेको छ ।
त्यसैगरी दोस्रोमा आवासीय चिकित्सकहरूको कार्यसमय सम्बन्धी स्पष्ट र व्यवहारिक मापदण्ड निर्माण गर्नुपर्ने माग चिकित्सक संघले राखेको छ ।
देशभरका चिकित्सकहरूको भावना सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने तेस्रो माग राखिएको छ ।
वैशाख ११ गतेसम्म माग सुनुवाइ नभए वैशाख १२ गतेदेखि आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्दै आन्दोलन चर्काउने चेतावनी चिकित्सक संघ कोशीले दिएको छ ।