काठमाडौँ। सरकार र शिक्षक महासंघबीच अहिले वार्ता जारी छ । सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको हो ।
वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले रहेका छन् भने, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली , महासचिव मदनराज जोशी, महासचिव तुला बहादुर थापा, लगायत २५ जना सहभागी छन् ।
शुक्रबार शिक्षामन्त्रीले बोलाएको बैठकमा प्राविधिक कारण देखाउँदै महासंघ बैठकमा सहभागी भएन । शिक्षा मन्त्रालयले अर्को विज्ञप्ति जारी गर्दै शनिबार बिहानका लागि वार्तामा उपस्थित हुन शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीलाई आह्वान गरेको थियो । सरकारले यसअघि पनि वार्ताका लागि पटक–पटक शिक्षकलाई आह्वान गरेको थियो ।
शिक्षकहरूले गत चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै आएका छन् ।
लामो समय शैक्षिक हडताल हुँदा सामुदायिक विद्यालयको पढाइ प्रभावित भएको छ ।