काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१६ बस्ने गोरखा अजिरकोट गाउँपालिका-४ घर भएका २२ वर्षीय अनिल देवकोटा रहेका छन् ।
देवकोटाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ बबरमहलबाट बुधबार पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको नेपाल प्रहरीले जनाएको छ ।