काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता टर्की र श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बैठकहरूमा नेपालको प्रतिनिधित्व गरी बिहीबार स्वदेश फर्किएकी छन्।
टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) र श्रीलंकाको कोलम्बोमा सम्पन्न बिमस्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी भएर उनी बिहान ११:४५ बजे श्रीलंकन एयरलाइन्समार्फत काठमाडौँ फर्किएकी हुन्।
भ्रमणका क्रममा मन्त्री मेहताले जलवायु परिवर्तनबाट जनस्वास्थ्यमा परिरहेको असर, स्वास्थ्य प्रणालीको अनुकूलन क्षमता, जलवायु वित्तमा विकासोन्मुख मुलुकहरूको पहुँच तथा क्षेत्रीय स्वास्थ्य सहकार्यका विषय उठाएकी थिइन्।
टर्कीमा आयोजित कोप-३१ अन्तर्गत नेपाल पेभिलियनमा सम्पन्न ‘जलवायु परिवर्तनसम्बन्धी कार्यको केन्द्रमा स्वास्थ्य : विश्वव्यापी दृष्टिकोण’ विषयक छलफल सत्रको अध्यक्षता गर्दै उनले जलवायु परिवर्तनलाई वातावरणीय समस्यामा मात्र सीमित नराखी गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखेकी थिइन्।
उनले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्ले स्वास्थ्य पूर्वाधार, स्वास्थ्य सेवा प्रवाह र नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको उल्लेख गर्दै जलवायु अनुकूलनसम्बन्धी नीति तथा कार्यक्रमको केन्द्रमा जनस्वास्थ्यलाई राख्नुपर्ने आवश्यकता औँल्याएकी थिइन्।
विशेषगरी रसुवामा आएको बाढी तथा हिमाली क्षेत्रमा देखिएका जलवायुजन्य विपद्का उदाहरण प्रस्तुत गर्दै मन्त्री मेहताले यस्ता घटनाबाट स्वास्थ्य सेवा सञ्चालन, अत्यावश्यक सेवामा नागरिकको पहुँच तथा स्वास्थ्य प्रणालीको निरन्तरतामा पर्ने प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी थिइन्।
उनले जलवायु परिवर्तनको जोखिम उच्च रहेका नेपालजस्ता अल्पविकसित मुलुकका लागि अनुदानमा आधारित जलवायु वित्तमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने विषयसमेत उठाएकी थिइन्।
जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम सञ्चालन गर्न उपलब्ध गराइने वित्तीय सहयोग ऋणभन्दा अनुदानमा आधारित हुनुपर्ने नेपालको मागलाई उनले सम्मेलनमा दोहोर्याएकी हुन्।
कोप–३१ का क्रममा मन्त्री मेहताले सम्मेलनमा सहभागी नेपाली युवा तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसँग पनि भेटघाट गरेकी थिइन्। त्यस अवसरमा उनले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय छलफलहरूमा स्वास्थ्यका मुद्दालाई प्राथमिकताका साथ उठाउन आग्रह गरेकी थिइन्।
बिमस्टेक बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्यमा जोड
टर्कीपछि श्रीलंकाको कोलम्बोमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी मन्त्री मेहताले सदस्य राष्ट्रहरूबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तार गर्नुपर्ने धारणा राखेकी थिइन्।
बैठकमा साझा स्वास्थ्य चुनौतीको पहिचान, स्वास्थ्य सेवाको गुणस्तर सुधार, स्वास्थ्य प्रणालीको सुदृढीकरण तथा सदस्य राष्ट्रबीच ज्ञान, प्रविधि र अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो।
बिमस्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठक नोभेम्बर ११ मा कोलम्बोमा सम्पन्न भएको हो। बैठकले क्षेत्रीय स्वास्थ्य सहकार्यसम्बन्धी संयुक्त मन्त्रीस्तरीय वक्तव्यका साथै सन् २०२६ देखि २०३० सम्मको संशोधित सार्वजनिक स्वास्थ्य कार्ययोजना पारित गरेको छ।
उक्त कार्ययोजनामा रोग निगरानी, महामारीको पूर्वतयारी, डिजिटल स्वास्थ्य, परम्परागत चिकित्सा, एकीकृत स्वास्थ्य अवधारणा र स्वास्थ्य जनशक्ति विकासलगायत विषय समेटिएका छन्।
बैठकका क्रममा मन्त्री मेहताले विभिन्न सदस्य राष्ट्रका प्रतिनिधिहरूसँग स्वास्थ्य क्षेत्रमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्य विस्तारका सम्भावनाबारे छलफल गरेकी थिइन्।
उनले भारतीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डासँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त भेटमा स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार, स्वास्थ्य क्षेत्रका अनुभव आदानप्रदान तथा गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रवर्द्धनका विषयमा छलफल भएको थियो।
अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्ने चुनौती
टर्की र श्रीलंका बैठकहरूमा नेपालको सहभागिताले जलवायु परिवर्तन र स्वास्थ्य सुरक्षाबीचको अन्तरसम्बन्धलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।
जलवायुजन्य विपद्को जोखिममा रहेको नेपालका लागि स्वास्थ्य पूर्वाधारलाई उत्थानशील बनाउने, विपद्का समयमा अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने तथा आवश्यक वित्तीय र प्राविधिक सहयोग जुटाउने विषय महत्त्वपूर्ण छन्।
त्यस्तै, बिमस्टेकमार्फत महामारीको पूर्वतयारी, रोग नियन्त्रण, स्वास्थ्य जनशक्ति विकास र स्वास्थ्य सेवामा प्रविधिको प्रयोगसम्बन्धी सहकार्य विस्तार गर्ने सम्भावना रहेको छ।
मन्त्री मेहताको भ्रमणका क्रममा उठाइएका विषयलाई द्विपक्षीय तथा बहुपक्षीय सहकार्यका ठोस कार्यक्रम, वित्तीय सहयोग र कार्यान्वयनयोग्य योजनामा रूपान्तरण गर्नु आगामी चुनौती हुनेछ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-३१ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा सञ्चालन भइरहेको छ।





