काठमाडौँ । जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधु भेटवाल आजबाट अनिवार्य अवकाशमा गएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शाखा, महाशाखा र विभाग हुँदै सचिव पदमा पुगेका भेटवाललाई मन्त्री दीपक खड्काले सम्मानपूर्वक विदाइ गरेका छन्।
ऊर्जा मन्त्रालयको क्याडरमा रहँदा भेटवालले प्रदर्शन गरेको शालीन र भद्र व्यवहार, विषयवस्तुमाथिको तर्कसंगत र प्रभावकारी प्रस्तुति शैलीले सबैलाई प्रभावित गरेको मन्त्री खड्काले बताएका छन्। उनको दीर्घ अनुभव, गहन ज्ञान र व्यावसायिक निष्ठाले मन्त्रालय र समग्र ऊर्जा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको खड्काको भनाइ छ।
मन्त्री खड्काले भेटवालजस्ता विज्ञबाट भविष्यमा पनि सहयोग, सुझाव र सल्लाहको अपेक्षा रहेको उल्लेख गर्दै उनको सेवानिवृत्त जीवन सुखमय, सफल र स्वास्थ्यपूर्ण होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।








