काठमाडौँ। जापानमा आयोजित ६५औँ विदेशी नागरिकद्वारा जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा नेपाली युवा विमल नेपालीले परराष्ट्र मन्त्री पुरस्कार प्राप्त गरेका छन्।
जापानको ओकायामा प्रिफेक्चरस्थित इहारा सहरको नागरिक सभागृहमा गत अक्टोबर ३ मा सम्पन्न प्रतियोगितामा पोखराका २१ वर्षीय विमलले उत्कृष्ट प्रस्तुति दिँदै उक्त पुरस्कार हासिल गरेका हुन्। आयोजक संस्था जापान फाउन्डेसन र इहारा नगर प्रशासनले सार्वजनिक गरेको आधिकारिक नतिजामा समेत उनी परराष्ट्र मन्त्री पुरस्कार विजेता रहेको पुष्टि भएको छ।
अन्तर्राष्ट्रिय शैक्षिक प्रवर्द्धन संघ, जापान फाउन्डेसन र इहारा नगरको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा प्रारम्भिक छनोट पार गरेका १० देशका १२ प्रतियोगी सहभागी थिए।
हाल जापानको आइची प्रिफेक्चरस्थित टोयोटा सहरमा कार्यरत विमलले प्रतियोगितामा ‘आत्मसमीक्षाका १० पत्रले सिकाएको पाठ’ विषयमा आफ्ना अनुभव र विचार प्रस्तुत गरेका थिए।
उनले जापानी समाजमा बसोबास गर्ने विदेशी नागरिकले सामना गर्नुपर्ने विभेद, त्यसप्रतिको व्यक्तिगत प्रतिक्रिया र फरक सांस्कृतिक पृष्ठभूमिका मानिसबीच आपसी सम्मानको आवश्यकतालाई आफ्नो वक्तृत्वको मुख्य विषय बनाएका थिए।
सामाजिक सञ्जालमा विदेशी नागरिकप्रति विभेदपूर्ण व्यवहार झल्काउने भिडियो देखेपछि आफूले पनि त्यसको प्रतिक्रियास्वरूप भिडियो सार्वजनिक गरेको अनुभव उनले सुनाएका थिए। त्यसपछि आफू अध्ययनरत व्यावसायिक विद्यालयमा आफ्नो व्यवहारबारे आत्मसमीक्षासहितको पत्र लेख्नुपरेको प्रसंगसमेत उनले प्रस्तुत गरेका थिए।
उक्त घटनाले आफूलाई आवेग र प्रतिशोधभन्दा संयम, आत्मसमीक्षा तथा अरूको दृष्टिकोण बुझ्ने प्रयास महत्त्वपूर्ण हुने पाठ सिकाएको उनको भनाइ थियो।
विमलले आफ्नो प्रस्तुतिमार्फत सांस्कृतिक तथा सामाजिक भिन्नतालाई विभाजनको कारण नभई आपसी समझदारी र सहकार्यको आधार बनाउनुपर्ने सन्देश दिएका थिए।
उनको वक्तृत्वमा व्यक्तिगत अनुभवसँगै बहुसांस्कृतिक समाजमा सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानका विषय समेटिएका थिए।
आयोजकका अनुसार प्रतियोगीहरूको वक्तृत्वको विषयवस्तु, प्रस्तुति संरचना, भाषिक अभिव्यक्ति र सन्देश सम्प्रेषणको क्षमतालाई समग्र रूपमा मूल्यांकन गरी पुरस्कार प्रदान गरिएको थियो।
सन् १९६० देखि सञ्चालन हुँदै आएको उक्त प्रतियोगिताले जापानी भाषा अध्ययन गर्ने विदेशी नागरिकलाई आफ्ना अनुभव, विचार र सामाजिक दृष्टिकोण प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ।
यस वर्षको प्रतियोगिता विशेष गरी विभिन्न राष्ट्रियता, संस्कृति र सामाजिक पृष्ठभूमिका मानिसबीच सहअस्तित्व तथा आपसी समझदारी प्रवर्द्धन गर्ने विषयमा केन्द्रित थियो।
जापानको राष्ट्रियस्तरको वक्तृत्वकला प्रतियोगितामा नेपाली युवाले हासिल गरेको यो उपलब्धिले भाषिक दक्षतासँगै अन्तरसांस्कृतिक संवादमा नेपाली समुदायको सहभागितालाई उजागर गरेको छ।





