काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले विपद् न्यूनीकरणका लागि समुदायमा विपद् स्वयंसेवक आवश्यक रहेको बताएका छन् ।
स्विट्जरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफमको आठौँ सत्रलाई सम्बोधन गर्दै आइजिपी अर्यालले उक्त कुरा बताएका हुन् ।
अर्यालले सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भइ विपद् व्यवस्थापनसँग सम्बन्धी उच्चस्तरीय तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको बताएका छन् ।
यसका साथै समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचक मार्फत भौगोलिक तथा विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्त हुने र यसले विपद् व्यवस्थापनमा सहकार्य तथा सहजता आउने अर्यालले बताए । सशस्त्रले विपद् स्वयंसेवकलाई उच्च प्राथमिकतामा राखेको पनि उनले बताए ।
यस प्रकारको सञ्जाल र सामुदायिक साझेदारीले विपद्को पूर्वतयारी, व्यवस्थापन, उद्धार र राहतमा समेत स्थानीय समुदाय र सुरक्षाकर्मी बीचमा समन्वय हुने भएकोले कार्य विपद्सँग जुध्नको लागि उपयोगी र प्रभावकारी हुनेमा बताए ।
विश्वभरिका विपद्सँग सम्बन्धित देशहरूको सहभागिता रहेको कार्यक्रममा महानिरीक्षक अर्यालले विपद्को सामना गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले यसमा विश्व समुदायको सामूहिक प्रयास अन्तर निकाय समन्वय हुनुपर्नेमा जोड दिए ।
विपद् व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन डिजास्टर गभरमेन्ट्स राम्रो हुनुपर्ने र सेन्दाई फ्रेमवर्क, पेरिस सम्झौता र दिगो विकास लक्ष्यहरूको प्रतिज्ञा पूरा गर्न एकैसाथ क्रियाशील हुनुपर्ने र त्यसलाई पुरा गर्नको लागि नेपाल सरकार र सशस्त्र प्रहरी बल नेपाल अग्रसर र प्रतिबद्ध रहेको समेत उनले बताए ।







