काठमाडौँ । नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको खेल बराबरीमा सकिएको छ।
हङकङको राष्ट्रिय रंगशालामा बिहीबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
नेपालविरुद्ध घरेलु टोलीले दबाब सिर्जना गर्यो। पहिलो हाफमा नेपालका गोलकिपर किरण लिम्बुले दुई वटा सशक्त प्रहार विफल पारेका थिए।
हङकङले लगातार आक्रमण गरे पनि फिनिसिङमा चुक्यो। नेपाली डिफेन्डरले केही डरलाग्दा आक्रमणलाई विफल पारे।
दोस्रो हाफमा नेपालले केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। काउन्टर आक्रमणमा जिलेस्पी जंग कार्कीले राम्रो स्थानमा बल पाए पनि समयमै पास उपलब्ध गराउन सकेनन्।
खेलमा सृजन राज गौतमले नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरे। उनी ८१औँ मिनेटमा अञ्जन विष्टको स्थानमा मैदान छिरेका थिए।
खेलको दोस्रो हाफको इन्जुरी समयमा नेपाल १० खेलाडीमा सीमित बन्यो। नेपालका मणिकुमार लामा दोस्रो पहेँलो कार्ड पाउँदै बाहिरिए।
नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गरेको हो।
यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो। सो खेल नेपालले हङकङसँग खेलेको एक मात्र औपचारिक खेल हो। हङकङमा भएको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। एएफसी एसियन कपको समूह(३ को खेल थियो।
हाल हङकङ फिफा वरीयतामा १५३औँ स्थानमा छ भने नेपाल १७५औँ स्थानमा रहेको छ।
अब जुन १० मा नेपालले एफसी एसियन कप छनोटको खेलमा लाओससँग खेल्नेछ। नेपाली टोली अब लाओसतर्फ जानेछ।
लाओससँगको मैदानमा हुने खेल नेपालले एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा लागेको दोस्रो खेल हो। यसअघि छनोटको पहिलो खेलमा नेपालले मलेसियासँग २-० गोलको हार बेहोरेको थियो।







