काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्तिलाई समेटेर वैकल्पिक राजनीतिलाई अगाडि बढाउन वैकल्पिक शक्तिसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
१०औँ पार्टी स्थापना दिवसका अवसरमा शुक्रवार आयोजित ‘वैकल्पिक राजनीतिको अर्जुनदृष्टि:राजनीतिक पुन:सरचना, सुशासन र समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले युवा पुस्तामा वैकल्पिक राजनीतिक चेतना अभिवृद्धि गर्दै मुलुकको आर्थिक समृद्धिमा क्रियाशील हुनुपर्ने बताए ।
“नयाँ शक्ति जुन उत्साहकासाथ सुरु गरिएको थियो पछिल्लो चरणमा अलिकति बरालिएकै हो, अपेक्षित उपलब्धि हाँसिल नभएकै हो”, उनले भने, “उपलब्धिलाई टेकेर नेपाललाई समृद्धिको यात्रामा लैजाने भनेर सुरु गरेका थियौँ । तर यो किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन् ।”
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अहिलेकै अवस्थाबाट राजनीतिलाई अगाडि बढाउन नसकिने भन्दै राजनीतिक आचरणलाई परिवर्तन गर्न जरुरी भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वैकल्पिक राजनीतिको माध्यमबाट आर्थिक दृष्टिकोण अलमल रहेको आत्मनिर्भर अर्थतन्त्रको विकास गरिनुपर्नेमा जोड दिए समाजवादी बहसलाई नयाँ पुस्तामा लैजान जरुरी छ ।
संयुक्त पहिचानवादी मोर्चा सचिवालय सदस्य खगेन्द्र माखिमले नेपाली राजनीतिमा वैकल्पिक राजनीति आवश्यक रहेको भन्दै वैकल्पिक शक्तिका लागि नेतामा वैकल्पिक सोच, संस्कार र संस्कृति आवश्यक रहेको बताए ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले पार्टी स्थापनाको १०औँ वार्षिकोत्सव मनाएको हो । बि.सं. २०७३ जेठ ३० गते वैकल्पिक शक्ति बनाउने अठोटसहित पूर्वप्रधानमन्त्री डा. भट्टराई नेतृत्वमा नयाँ शक्ति पार्टी स्थापना भएको थियो ।







