काठमाडौँ । पूर्व न्यायाधीशहरुले न्यायलाई विकृत पार्ने न्यायाधीशमाथि कारवाही गर्न माग गरेका छन् ।
पूर्व न्यायाधीश फोरम नेपालले मंगलबार एक विज्ञप्ति जारी गरेर आचरणमा स्वच्छता नअपनाउने र न्यायलाई विकृत पार्ने न्यायाधीशलाई कडा कारवाही गर्न माग गरेका हुन् ।
न्यायालय स्वतन्त्र र सक्षम देखिनका लागि न्यायाधीशहरूको काम कारवाही स्वच्छ हुनुपर्ने भन्दै फोरमले न्यायाधीशहरूको ध्यानाकर्षण गराएको हो ।
राजनीतिक दल, नेता वा कसैको निर्देशनमा न्यायालय चलेको छ भन्ने हल्लाले समाजमा स्थान पाउँदै गएको भन्दै फोरमले त्यसतर्फ ध्यान दिन सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।
फोरमले विज्ञप्तिमार्फत भनेको छ, ‘न्यायाधीशको समग्र आचरणको स्वच्छता, न्यायिक शुद्धता, सक्षमता र जनआस्था आर्जन गर्न सक्ने छविले मात्र न्यायालय र न्यायाधीशको गरिमा जोगाउन सक्दछ भन्ने कटु सत्यलाई हरेक तहका न्यायाधीशज्यूहरुले आत्मसाथ गर्नुपर्दछ ।’
सबै तहका न्यायाधीशहरूको व्यावसायिक स्वतन्त्रताको संरक्षण हुनुपर्ने भन्दै फोरमले त्यस सिलसिलामा पदीय स्वतन्त्रता, मर्यादा र सुरक्षाको प्रत्याभूतिमा पनि जोड दिएको हो ।








