काठमाडौँ । नेकपा एमाले राष्ट्रिय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य भरत प्रसाद साह नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
आज चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका लगाई पार्टी प्रवेश गरेका हुन् ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरुवात २०३५ सालमा अखिल (पाँचौँ) का बारा जिल्ला अध्यक्षको रूपमा गरेका थिए ।
त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए ।
२०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हाल्नु भएका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रिय अध्यक्ष बनेका थिए । शिक्षा क्षेत्रको संगठनात्मक नेतृत्वमा उनको उल्लेखनीय योगदान रहँदै आएको छ।
राजनीतिक रूपमा स्थिर र अनुभव सञ्चित नेताका रूपमा चिनिएका साह हालसम्म नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद् सदस्यको रूपमा क्रियाशील थिए । पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ ।
पार्टी प्रवेशपछि अध्यक्ष ‘प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरेका थिए। साहको आगमनसँगै माओवादी केन्द्रले बारा लगायत मधेशमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।







