तनहुँ । जिल्लामा किसान चैते धान खेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धान खेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धान खेती गरिन्छ ।
जिल्लाका अधिकांश पालिकामा धान खेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धान खेती गरिन्छ । व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा धान खेती गरिन्छ । तर, भानु, व्यास, म्याग्दे र आँबुखैरेनीका अधिकांश फाँटमा चैते धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाका कुल नौ हजार ४६४ हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि एक हजार ८०२ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले भने, “मनसुन सुरु भएसँगै चैते धान खेती थन्क्याउन किसान व्यस्त छन् । चैते धान थन्क्याउनासाथ असारे धान (वर्षे धान) रोप्ने चटारो हुन्छ । जिल्लाका चैते धान खेती हुने फाँटमा लगाइएका धान थन्क्याउन भ्यान नभ्याई छ ।”
मनसुन सुरु हुनासाथ वर्षे धान मात्रै हुने स्थानमा अहिले रोपाइँ सुरु भइसकेको उनले बताए । तनहुँ धान खेती हुने पहाडी जिल्लाकै रूपमा पर्ने गरेको उनको भनाइ छ । अधिकृत परियारका अनुसार उक्त क्षेत्रफलमा गरिएको धान खेतीबाट आर्थिक वर्ष २०८०/८१ मा ३७ हजार ९४२ मेट्रिकटन धान उत्पादन भएको छ । त्यसमध्ये आठ हजार ७०४ मेट्रिकटन चैते धान उत्पादन भएको जनाएको छ ।
चैते धान प्रवर्द्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ । थन्क्याउने कार्य चलिरहेकाले चालु आर्थिक वर्षको तथ्यांक आउन बाँकी रहेको उनले बताए । उनले भने, “सिँचाइ भएको क्षेत्रफल र केही क्षेत्रमा सिँचाइको व्यवस्थापन भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।”
भानुको चुँदीफाँट, खहरे फाँट, सतीघाटफाँट, व्यासको घाँसीकुवाफाँट, साँगेफाँट, कलेस्तीफाँट, माझफाँट, गजौडेफाँट, शिशाघाटफाँट, म्याग्देको गुणादीफाँट, थर्पुफाँट, पसलेफाँट, सेराफाँट र शुक्लागण्डकीको ढोरफिर्दीफाँट, भिमादको बुडुवाफाँटलगायतका विभिन्न पालिकाका फाँटमा धान खेती हुने गरेको छ । चैते धान विशेष गरी चिउरा उत्पादनका लागि उपयोग हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।







