काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसद लेखनाथ दाहालले संघीय निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह गरेका छन् ।
विभिन्न मन्त्रालयको विनियोजनमाथिको छलफलमा भाग लिँदै उनले कार्यसूचीमा समावेश भइसकेको विधेयक किन रोकिएको हो भनेर प्रश्न गरे । सांसद दाहालले योजना छनोट, कार्यान्वयन र सार्वजनिक खरिद ऐनमा रहेका समस्या समाधानका लागि शीघ्र पहल गर्नुपर्नेमा जोड दिए ।
आफ्नो निर्वाचन क्षेत्रमा चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेका आयोजनाका लागि बजेट विनियोजन नगरी पूर्णरूपमा कटौती गरिएकामा उनले आपत्ति जनाए । पहुँचवालाको निर्वाचन क्षेत्रमा मात्र बजेट विनियोजन गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने उनको भनाइ छ ।







