काठमाडौँ । धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ ।
गत चैतदेखि कमला नदीमा जलप्रवाह कम भएपछि बन्द गरिएका नहर पुनः सञ्चालनमा आएका हुन् ।
रोपाइँको मुख्य समयमा किसानलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउन समयमै नहर सञ्चालनमा ल्याइएको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषाले जनाएको छ ।
धान रोपाइँको मुख्य समयलाई ध्यानमा राख्दै नहर प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो ।
सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार पहिलेका वर्षमा साउन १ गतेदेखि मात्रै नहर सञ्चालन गरिने परिपाटीलाई तोडेर विगत तीन वर्षदेखि असार पहिलो हप्ताबाटै नहरमा पानी प्रवाह गर्न थालिएको हो ।
असारबाट सञ्चालन हुने नहर कात्तिकसम्म चालु रहन्छ । त्यसपछि छठ पर्व विशेष सञ्चालन गरिने बताइएको छ ।







