कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । क्याम्पसले भारतको झारखण्डस्थित एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ अन्य संस्थाहरूको सहयोगमा यही असार १३ र १४ गते दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
क्याम्पसले ‘गुणस्तरीय शिक्षा र दिगो विकासका उदीयमान अनुसन्धान प्रवृत्ति र नवप्रवर्तनको बहु विधागत अनुसन्धान’ शीर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जनाएको छ । उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरिका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेषणकर्ताहरूले अनलाइन र अफलाइन आफ्नो प्रस्तुतीकरण गर्ने अन्तर्राष्ट्रिय सम्मेलनका निर्देशक डा. मदनसिंह देउपाले बताए ।
“नेपाललगायत भारत, अमेरिका, बेलायत र डेनमार्कका अनुसन्धानकर्ताको प्रस्तुति रहेको छ, उनीहरूले अनलाइन र भौतिक उपस्थितिमा आफ्नो प्रस्तुति दिनेछन्”, उनले भने । उनले अन्तर्राष्ट्रिय सम्मेलनको उद्देश्य वर्तमानमा अनुसन्धानका क्षेत्रमा अनुसन्धानकर्ताले पत्ता लगाएका नतिजाहरूको आदानप्रदान गर्ने र सो क्षेत्रमा सहकार्यात्मक अनुसन्धान गर्ने तथा अनुसन्धानको क्षेत्रमा रहेका व्यक्तिको ‘प्रमोट’ गर्ने रहेको बताए ।
केन्द्रीय क्याम्पसले पहिलो पटक गर्न लागेको सम्मेलनको प्रतिफल तत्काल नदेखिए पनि भविष्यमा राम्रो प्रतिफल दिने र शिक्षाको गुणस्तरमा वृद्धि हुने विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र विभागमा कार्यरत कार्यरत प्रा. दीपकचन्द्र भट्टले बताए ।
विद्यार्थीहरूलाई अनुसन्धानसँग जोड्नका लागि सम्मेलनको आयोजना गरिएको सम्मेलनको विभिन्न सहआयोजक र अन्य सहयोगी संस्थाहरूबाट सहयोग लिएर सम्मेलन गर्न लागिएको अर्थ व्यवस्थापन संयोजक एवं उपप्राध्यापक कर्णदेव भट्टले बताए ।
विभिन्न समिति बनाएर सम्मेलनको तयारी भइरहेको क्याम्पसका प्रमुख एवं अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक कुम्भ चन्दले बताए । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको संयोजक चन्दले बताए । सम्मेलनमा प्राध्यापक, विज्ञ, शिक्षाविद्, अनुसन्धानकर्ता र विद्यार्थी गरी २५० जनाको सहभागिता रहने उनले बताए ।







