एएफपी । युक्रेनको ओडेसा क्षेत्रमा शुक्रबार राति भएको रुसी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। जसमा बालबालिकाहरू पनि समावेश छन् ।
ओडेसाका गभर्नर ओलेग किपरले टेलिग्राममार्फत भने “आवासीय भवनमा भएको यस आक्रमणबाट उद्धारकर्ताहरूले दुई जना नागरिकको शव निकाल्न सफल भएका छन्,” । उनका अनुसार घाइतेमध्ये तीनजना बालबालिका रहेका छन्, जसको अवस्था सार्वजनिक गरिएको छैन ।
यसैबीच, युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा पनि पछिल्लो २४ घण्टामा रुसी आक्रमणका कारण एक व्यक्तिको ज्यान गएको र तीन जना घाइते भएको पुष्टि भएको छ । खेरसोनका गभर्नर ओलेक्जान्द्र प्रोकुडिनले रुसी सेनाले सामाजिक तथा महत्त्वपूर्ण पूर्वाधार र बस्ती क्षेत्रहरूलाई निशाना बनाएको जानकारी दिए ।
सन् २०२२ देखि जारी द्वन्द्वले युक्रेनमा ठूलो मानवीय क्षति पुर्याउँदै आएको छ । लाखौँ मानिस विस्थापित भएका छन् भने हजारौँको ज्यान गइसकेको छ ।
शान्ति स्थापनाको लागि अमेरिकाको पहलमा सुरु गरिएका वार्ता प्रक्रमहरू हाल स्थगित छन् । रुसले युक्रेनलाई भूभाग सुम्पिनुपर्ने र पश्चिमी सैन्य सहायता त्याग्नुपर्ने सर्त राखेको छ, जुन युक्रेनी पक्षका लागि स्वीकार्य छैन ।







