काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल–अमेरिका सम्बन्धका समसामयिक विषयमा छलफल भएको छ।
छलफलमा नेपालको अध्यागमन प्रणालीको सुदृढीकरण, अवैध आप्रवासनका समस्याहरू, अमेरिकी लगानी, र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) परियोजनामा अमेरिकी सहयोगको निरन्तरताजस्ता विषयमा कुराकानी भएको थियो।
मुख्य सचिव अर्यालले विगत सात दशकदेखि अमेरिकी सरकारबाट शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, यातायात, सञ्चार, कृषि, वन, र ऊर्जा क्षेत्रमा प्राप्त सहयोगको प्रशंसा गरे। उनले एमसिसि परियोजनाले नेपालको सीमापार विद्युत् निर्यात, उत्पादकत्व वृद्धि र अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि महत्त्वपूर्ण योगदान पुर्याउने बताए। साथै, विपद् व्यवस्थापनका लागि स्थानीय र प्रदेश सरकारको क्षमता विकास र लजिस्टिक सहयोगको आवश्यकता औंल्याए।
अमेरिकी राजदूत थम्पसनले नेपालमा अमेरिकी लगानीकर्ताका लागि सहज वातावरण बनाउन अनुरोध गर्दै अध्यागमन व्यवस्थापनमा सुधारको आवश्यकता रहेको बताए। उनले एमसिसि परियोजनालाई निरन्तरता दिने विषयमा सकारात्मक प्रगति हुने अपेक्षा व्यक्त गर्दै विपद् व्यवस्थापनमा थप सहयोगका लागि पहलकदमी लिने प्रतिबद्धता जनाए।
भेटमा अमेरिकी राजदूतावासका पब्लिक अफेयर्स प्रमुख माइकल हार्कर र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाललगायतका प्रतिनिधिहरूको उपस्थिति थियो।
यो भेटले नेपाल र अमेरिकाबीचको सहकार्य र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।







