काठमाडौँ । नेपाली सेनाको जंगी अड्डाले दुई सैनिक अधिकृतलाई बर्खास्त गरेको छ ।
सैनिक आचरण विपरीत कार्य गरेको अभियोगमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई बर्खास्त गरिएको हो । यद्यपि, उनीहरू भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने जनाइएको छ ।
सैनिक कल्याणकारी कोषको करिब सवा २ करोड रुपैयाँ हिनामिना प्रकरणमा कोर्ट अफ इन्क्वायरीले गरेको छानबिनपछि बिहीबार यो आदेश जारी भएको हो ।
सहायक रथी राजाराम बस्नेतले प्रशासनलाई बताएअनुसार, बर्खास्तमा परेका अधिकृतबाट हिनामिना भएको रकम असुल गरिने आदेश भएको छ ।
यो प्रकरणमा संलग्न केही अधिकृतले यसअघि नै अवकाश पाइसकेका छन् । उनीहरूमाथि जिल्ला प्रहरी परिसर, काठमाडौँमार्फत ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।







