काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापतिविरुद्ध प्रतिशोध भएको भन्दै चलाएको हस्ताक्षर अभियान गाउँका घरदेखि खेतसम्म पुर्याउने बताएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सह-कोषाध्यक्ष दीपक बोहोराले यसबारे जानकारी गराएका हुन् ।
उनका अनुसार, अहिलेसम्म २४ लाख ५७ हजार ६ सय १८ हस्ताक्षर संकलन भएको छ ।
जसका लागि ४६ लाख १२ हजार ६३६ खर्च भएको पनि उनले जानकारी दिए ।
‘हालसम्म २५ दिन अभियान चलेको छ । अभियान अझै जारी छ । हालसम्म प्रदेश, जिल्ला र पालिका स्तरको नेतृत्वले अभियानको नेतृत्व गरेको छ,’ बोहोराले भने, ‘रोपाइँ सकिएको छैन होला हामी खेतमै जान्छौँ, घरमै जान्छौँ र सही नगरेका मान्छेलाई सही गर्न भन्छौँ । हस्ताक्षर नगरेका मान्छेलाई भन्छौँ ।’
साथै, उनले नेपाल भारत सीमा क्षेत्र, उपनिर्वाचन हुने क्षेत्र, देश तथा विदेश जताततै आफूहरूको अभियान चल्ने पनि बताए ।
‘नेपाल भारतको सीमामा पनि राख्छौँ । उपचुनाव हुने सबै वडामा बुथ राख्नेछौँ । बर्खा र खेतीपातीका कारणले गाउँ स्तरमा नपुगेको हो कि भन्ने छ,’ उनले भने, ‘रास्वपाका समितिले अभियानको नेतृत्व गरिरहेका छन् । विदेशमा पनि बढी नेपाली रहेका देशमा केन्द्रीय स्तरकै नेताहरू जाने र अभियान सञ्चालन गर्ने ।’
देशका सातै प्रदेशसहित केन्द्रीय कार्यालयमा पनि अहिले अभियान सञ्चालन भइरहेको उनले बताएका छन् ।







