काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दुई ठूला पार्टी मिलेर बनेको शक्तिशाली सरकारले एक वर्ष त्यसै खेर फालेको टिप्पणी गरेका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री केपी ओली सरकार टिक्नु नै ठूलो कुरा हो भनेर बसिरहेको बताए ।
उनले भने, ’काँग्रेस र एमाले मिलेर बनेको यो सरकारले जुन लाभ प्राप्त गर्नुपर्ने हो त्यसमा हामी नराम्रोसँग चुकेका छौँ। केपी ओलीले सरकारको नेतृत्व गरिराख्नुभएको छ, हामी त्यसको साझेदार छौँ। मेरो चिन्ता एक वर्ष खेर गइसक्यो, अर्को एक वर्ष खेर नफालौँ ।’
यद्यपि, उनले सत्ता गठबन्धनमा कुनै खटपट भएर आफूले यस्तो नभनेको बताए ।
उनले भने, ‘हामीले एक वर्षको प्रारम्भमा राम्रो गर्यौँ। सुरुमा उत्साह पनि थियो, सुधारको प्रयास पनि गर्यौँ हामीले। त्यसपछि हामी सरकार टिक्नु नै खुसीको कुरा हो भनेर आनन्दले बस्यौँ। जसले गर्दा हाम्रो पछिल्लो ६ ७ महिना त उपलब्धिहीन नै बन्यो। एक वर्ष जस्तो गर्नुपर्नेथ्यो त्यसमा हामी चुक्यौँ। कसैलाई दोषी दिएर हुँदैन ।’
उनले अबको अर्को वर्ष सरकारलाई सफल बनाउन काँग्रेसको तर्फबाट केके गर्नुपर्छ गर्न आफूहरू तयार रहेको बताए। उनले संघका मन्त्री, प्रदेशका सरकार फेर्ने भए पनि तयार रहेको भन्दै तर उद्देश्य प्रष्ट पार्नुपर्ने बताए ।







