काठमाडौँ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई चेतावनी दिएकी छन् ।
ह्वाइट हाउसका एक अधिकारीले किम जोङ उनसँग वार्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प खुला रहेको बताएपछि उत्तर कोरियाका नेताकी शक्तिशाली बहिनीले अमेरिकालाई आणविक नि:शस्त्रीकरणको विरुद्धमा चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
उनले उत्तर कोरियालाई आणविक हतियार राष्ट्रका रूपमा अस्वीकार गर्ने कुनै पनि प्रयासलाई पूर्णरूपमा नमान्ने बताएको राज्य सञ्चारमाध्यमले प्रकाशित गरेको वक्तव्यमा उल्लेख छ ।
किमले आफ्ना दाइ र ट्रम्पबीचको ‘व्यक्तिगत सम्बन्ध’ ‘नराम्रो नभएको’ बताएको तर भविष्यको कुनै पनि वार्तामा ‘आणविक नि:शस्त्रीकरणको उद्देश्य पूरा गर्न’ प्रयोग नगर्न उनले चेतावनी दिइन्। यस्तै उनले आणविक नि:शस्त्रीकरणको उद्देश्यले गरिने वार्तालाई ‘उपहास’ को रूपमा व्याख्या गरिने बताएकी छन् ।
उत्तर कोरियाको आणविक निःशस्त्रीकरण सम्बन्धी सम्झौतामा पुग्नका लागि अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालमा ट्रम्प र उत्तर कोरियाली नेताबीच तीन पटक भेट भएको थियो । तर सन् २०१९ मा भियतनामको राजधानी हनोईमा भएको दोस्रो शिखर सम्मेलनमा उत्तर कोरियाले यसको बदलामा के पाउने भन्ने कुरामा सहमति हुन नसकेपछि यसले आफ्नो आणविक कार्यक्रमलाई गति दिएको छ ।
ट्रम्पले उत्तर कोरियाली नेतासँग आफ्नो ‘उत्कृष्ट सम्बन्ध’ बारे कुरा गरेको र प्योङयाङमा तेस्रो पुस्ताका शासकसँग पुनः वार्ता गर्न खोज्ने संकेत गरेको खबरमा उल्लेख छ ।







