काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरू अब संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिने बताएका छन् ।
एक कार्यक्रममा बोल्दै उनले २०८४ मा हुने संघ र प्रदेशको निर्वाचनमा नेकपाले आँधीबेहरी सिर्जना गर्ने बताएका हुन् ।
‘उनले भने, ‘हाम्रो पार्टी लड्छ । स्थानीय चुनाव, संघ र प्रदेशमा पनि हाम्रो पार्टी जान्छ । पार्टी मात्र होइन, हाम्रो एकदम असल साथीहरूसँग, मध्यम वर्गका साथीहरूसँग, बुद्धिजीवी साथीहरूसँग, व्यवसायी साथीहरूसँग छलफल गरेर संयुक्त ढंगले आँधीबेहरी निर्माण गर्ने हाम्रो चाहना छ । २०८४ मा हामी चुनावी मोर्चामा सहभागी हुन्छौँ ।’
साथै, उनले ०८४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लगायत कम्युनिष्ट घटकहरूसँग गठबन्धन गर्न सकिने र अहिलेदेखि त्यसबारेमा छलफल भइरहेको बताए । मिलेर चुनावमा जान आफूहरू तयार रहेको उनले बताए ।
‘विप्लव’ले भने,‘देशलाई निकास दिनका लागि छलफल चलेको छ, मिलेर जाउँ, त्योमा पनि हामी तयारी छौँ । तर यदि त्यसो भएन भने हाम्रो पार्टी एक्लै जनतामा जान पनि तयार छ ।’
साथै, उनले माओवादीसँग तत्कालै एकता भने सम्भव नरहेको बताएका छन् । उनले आफूहरूले एक वर्ष अगाडि नै पार्टी एकताको प्रस्ताव पारित गरिए पनि माओवादी केन्द्रको आन्तरिक विषय नटुंगीदा अहिलेसम्म एकता नभएको बताए ।
उनले भने, ‘सहकार्य त अहिले हामीले जारी नै राखेका छौँ । तर, एकता तत्काल देखिँदैन । यो छलफल हुँदै जान्छ ।’







