काठमाडौँ। जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक कुमार साहले निलम्बन निर्णय सम्बन्धी आधारभूत प्रमाण र कागजात उपलब्ध नगराइएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका गरेका छन् ।
साहलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय जनमतले गरेको थियो। निलम्बन गर्नुपर्ने कारणका लागि उनले पार्टीमा निवेदन दिएपछि उपलब्ध नभएपछि जवाफका लागि कानुनी प्रक्रिया अनुसार सूचना आयोगमा पुनरावेदन गर्नुपरेको बताएका छन्। साहले सूचना आयोगमा बिहीबार निवेदन दिएका हुन्।
साहले आफ्नो विरुद्ध योजनाबद्ध रूपमा चरित्र हत्या गर्ने गतिविधि भइरहेको बताएका छन्। २०८१ चैत १४ मा पठाइएको कारबाही पत्रप्रति असहमति जनाउँदै २०८१ चैत १९ मा पार्टीमा पुनरावेदन गरिए पनि कारबाही गर्नुपरेको प्रमाण नदिइएको उनले बताए।
निलम्बन निर्णयको कानुनी आधार, कारबाहीका लागि प्रयोग गरिएको प्रमाण वा उजुरीको विवरण उपलब्ध गराउन उनले माग गरेका छन्। साथै, पार्टीभित्र चरित्र हत्या गर्ने योजनाबद्ध गतिविधिहरूको छानबिन हुनुपर्ने उनको माग छ।








