काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका निर्णय उल्टाउन दबाब दिने निर्णय गरेको छ ।
असन्तुष्ट पक्षको हात्तीसारमा बसेको बैठकले कार्यसम्पादन र केन्द्रीय समिति बैठकमा एकजुट भएर प्रतिवाद गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी नेताले भने, ‘अध्यक्षले अवैधानिक निर्णयहरू गरिराख्नु भएको छ । उहाँले गरेका अवैध निर्णय बदर गराउन कार्यसम्पादन र केन्द्रीय समितिमा जोडदार माग राख्ने निर्णय भएको छ ।’
राप्रपाले केन्द्रीय समितिको बैठक भदौ दोस्रो साता बोलाउने तयारी गरेको छ । उक्त बैठकमा अनिवार्य उपस्थित हुन र न्यायका पक्षमा आवाज उठाउन संस्थापन इतरका केन्द्रीय सदस्यहरूलाई निर्देशन दिने निर्णय भएको बैठकमा सहभागी नेताले जानकारी गराए ।
अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजकमा रोशन कार्की नियुक्त गरेपछि दुई पक्षको सम्बन्ध बिग्रिँदै गएको छ ।







