काठमाडौँ। सभामुख देवराज घिमिरेले राखेको कार्यव्यवस्था समितिको बैठकमा काँग्रेस र माओवादीले उपसभामुख इन्दिरा राना मगरको अमेरिका भ्रमणबारे प्रश्न उठाएको छ ।
बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखको विषय चर्चामा आइरहेको भन्दै विषय उठाएपछि काँग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको भ्रमणबारे प्रश्न उठाए ।
पाण्डेले बैठकमा भने, ‘उपसभामुखलाई हटाउने भन्ने विषय हिजोदेखि आइरहेको छ । यो के हो ? जानकारी होस् ।’
त्यसपछि सभामुखले व्यक्तिगत कार्यक्रममा लागि उपसभामुख अहिले अमेरिका भ्रमण गएको जानकारी गराए । सभामुखले उपसभामुखबारे जवाफ दिएपछि काँग्रेस सांसद खतिवडाले उपसभामुख कस्तो कार्यक्रममा सहभागी हुन गएको भन्दै प्रश्न उठाए ।
खतिवडाले सभामुखलाई भने, ‘उपसभामुख सांसदसँग सम्बन्धित कार्यक्रममा जानुभएको हो कि अरू कुनै एनजिओ, आइएनजीओको ? सभामुखलाई जानकारी गराउनुभएको होला । रातो पासपोर्ट बोकेर उपसभामुख पटक पटक विदेश जान मिल्छ कि मिल्दैन ?’
खतिवडाले पटक(पटक संसदीय समितिमा एनजीओ आईएनजीओ कार्यक्रम रोक्न कुरा उठाउने तर आफू घुम्न जाने यसमा महासचिवले पनि कडाइ गर्नुपर्यो भन्दै सभामुखसँग सवाल जवाफ गरेका थिए ।
खतिवडाले भने, ‘संसदमा एनजीओ आइएनजीओ कार्यक्रम रोक्ने । आफू चाहिँ यस्ता कार्यक्रममा जाने, यस्ता कार्यक्रममा जान रोक्नुपर्यो । उहाँ कसको खर्चमा जानुभएको हो रु’
सभामुख घिमिरेले उपसभामुख सहभागी हुने कार्यक्रम संसदीय कार्यक्रम नभएको जानकारी दिएका थिए । सभामुखले भने, ‘एउटा कार्यक्रममा बिदा मागेर जानुभएको छ । संसद्को त होइन ।’
काँग्रेसले प्रश्न उठाएपछि उपसभामुख सहभागी भएको कार्यक्रम संसदीय नभएको र आफूलाई जाने आउने समय मात्रै बनाएको जवाफ फर्काएका थिए ।
काँग्रेस एमालेले उपसभामुख मगरको आचरणमाथि प्रश्न उठाउँदै हटाउनको लागि हस्ताक्षर सांसदहरूको हस्ताक्षर जुटाइरहेको छ । देशबाहिर हुँदा राम्रो सन्देश नजाने भन्दै फर्केपछि हटाउने प्रस्ताव अघि बढाउने तयारी छ । उनी भदौ १३ गते स्वदेश फर्किने कार्यक्रममा छ ।







