काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धलाई गलत कदम भन्दै कडा आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गरेको पछिल्लो स्टाटसमा सरकारले भ्रष्टाचार लुकाउन सामाजिक सञ्जाललाई नियन्त्रण गरेको आरोप लगाएका छन्।
‘प्रचण्ड’ले सरकारको यो कदमविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शनलाई स्वाभाविक ठहर गर्दै प्रदर्शनमाथि बल प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन्। उनले भने, “सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने दुस्साहस नगरोस्।”
उनले आफ्नो पार्टीको भ्रष्टाचारविरुद्धको आन्दोलन निरन्तर जारी रहेको पनि स्पष्ट पारेका छन्। ‘प्रचण्ड’को यो भनाइले सरकारको पछिल्लो कदम र भ्रष्टाचारका मुद्दाहरूमा थप बहस सिर्जना हुने देखिएको छ।







