काठमाडौँ। पटक-पटक पहिरोले अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । अरनिको राजमार्गको कोदारीमा यस वर्षको वर्षाले बढी क्षति गरेको थियो ।
सडक विभागका अनुसार ४ भदौ २०८२ का दिन १८ दिनको अवरोधपछि सडक खुलेको थियो । तर, ९ भदौमा पुनस् सडक अवरुद्ध भएको थियो । त्यसबेला १५ भदौदेखि राजमार्ग सुचारु गरिएकोमा भोलिपल्ट १६ गतेदेखि नै राजमार्ग पुनः अवरुद्ध बनेको थियो ।
अवरोध हटाउन विभागले निरन्तर प्रयास गरेको थियो । तर, भारी वर्षाका कारण हरेक दिन थप क्षति हुने, निरन्तर ढुंगासहित लेदो र पहिरो बगिरहने समस्या र ठूलो स्केलको पहिरो भएका कारण सडक सुचारु गर्न सकिएको थिएन ।
तल भोटेकोशी नदीको कटान समेत निरन्तर थियो । पहिरोले केही स्थानीयका घरमा क्षति गरेको तथा उनीहरूबाट अवरोध भएकाले समेत सडक मर्मतमा ढिलाइ भएको विभागको भनाइ छ ।
त्यसक्रममा २ असोज राति परेको वर्षाले समेत थप ४ स्थानमा पहिरो जाँदा यो राजमार्ग सञ्चालनमा थप चुनौती थपिएको थियो । अहिले कोदारीमा अस्थायी राजमार्ग सुचारु गरिएको र स्थायी समाधानका लागि डिजाइनको काम भइरहेको विभागले जनाएको छ । अस्थायी रूपमा पहिरोलाई प्लास्टिकले ढाकिएको छ । पहिरोभित्र पानी निकाल्न ड्रिलिङ गरिएको छ ।







