काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले मानव सभ्यताको विकास क्रममा कुकुर शुरुदेखि नै मानिसको साथीका रूपमा रहेको बताएका छन् ।
कुकुर तिहारको अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले नेपालको विभिन्न जातजाति र आदिवासी समुदायका किंवदन्तीले कुकुर र मानवबीचको पुरानो सम्बन्ध उजागर गर्ने बताएका हुन् । उनले गुरुङ समुदायको कोला सोथारसँग जोडिएको किंवदन्ती सुनाउँदै सिकारी जीवनबाट कृषि युगमा प्रवेश गर्दासमेत कुकुर मानिससँगै रहेको उल्लेख गरे । गुरुङ समुदायका पुर्खाहरू सिकार गर्दै कोला सोथार पुगेपछि त्यहाँ रहेका नौवटा कुकुरले उक्त स्थान छाड्न नमानेको र पुर्खाहरूले उवाको बीउ छरेर खेती सुरु गरेपछि त्यहीँ बसोबास गरेको कथा रहेको उनले सुनाए ।
मन्त्री पौडेलले यो कथाले मानव सभ्यताको प्रारम्भिक चरणदेखि नै कुकुर मानिसको जीवनसँग जोडिएको देखाउने बताए । उनले कुकुरको सांस्कृतिक महत्व हिन्दु धर्मका रामायण र महाभारतमा मात्र सीमित नरहेको पनि स्पष्ट पारे । किराँत समुदायको बायुङ संस्कृतिमा कुकुरलाई ‘माङ शक्ति’ अर्थात ईश्वरीय शक्तिका रूपमा सम्मान गर्ने परम्परा रहेको उनले उल्लेख गरे । बायुङ समुदायमा बिजुवा अर्थात धामीलाई ईर्ष्या, डाह, लोभ र क्रोधजस्ता विकारबाट जोगिनुपर्ने मान्यतासँग पनि कुकुरको प्रसंग जोडिने गरेको उनको भनाइ छ ।
मन्त्री पौडेलले भने, ‘हिन्दु दर्शनका रामायण र महाभारतदेखि नेपालका विभिन्न आदिवासी जनजातिका मौलिक कथासम्म कुकुरको विशेष स्थान रहेको छ । किराँत बायुङ समुदायमा कुकुरलाई माङ शक्ति अर्थात ईश्वरीय शक्तिको प्रतीकका रूपमा पुजिन्छ । गुरुङ समुदायको कोलासोथारसँग जोडिएको कथामा नौवटा कुकुरले पुर्खाहरूलाई त्यहीँ बसोबास गर्न प्रेरित गरेको उल्लेख छ । उवा छरेपछि त्यहाँ अन्न फल्न थालेको र उनीहरूले स्थायी बसोबास सुरु गरेको विश्वास गरिन्छ । यी कथाहरूले कुकुर मानव सभ्यताको शुरुवातदेखि नै मानिसको साथी र जीवनयात्राको अभिन्न हिस्सा रहेको देखाउँछन् ।’
नेपालका विभिन्न समुदायका मौलिक कथा, परम्परा र विश्वासले कुकुरलाई मानव जीवनको अभिन्न अंगका रूपमा चित्रण गरेको भन्दै उनले कुकुरको महत्वलाई धार्मिक आस्थाभन्दा व्यापक सांस्कृतिक र सभ्यतागत दृष्टिकोणबाट बुझ्नुपर्ने सन्देश दिए ।





