काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउने बताएका छन् ।
मंगलबार हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले सरकारको मुख्य काम सो निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु रहेको बताएका हुन् ।
सो निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गराउने दायित्व पनि सरकारको रहेको सञ्चार मन्त्री खरेलको भनाइ थियो ।
सो निर्वाचनको वातावरण बनाउनका लागि निर्वाचन आयोगलाई आवश्यक सबै व्यवस्था मिलाउने काममा पनि सरकारले ढिलाइ नगर्ने पनि उनले बताए ।
‘फागुन २१ गते शान्तिपूर्ण, स्वतन्त्र र धाँधलीरहित चुनाव गराउनका लागि वातावरण तयार गर्ने । र निर्वाचन आयोगलाई जस्तो जस्तो वातावरण चाहिन्छ, त्यो वातावरण सरकारले मिलाइ दिन्छ । र सबैले चुनावमा भाग लिन सक्ने वातावरण तयार गर्ने सरकारको दायित्व हो,’ मन्त्री खरेलले भने, ‘सरकारले अर्जुन दृष्टिमा राखेको छ । अर्को कुरा जेन जेड आन्दोलनले उठाएको माग भनेको सुशासनको कुरा हो । भ्रष्टाचार नियन्त्रणको कुरा हो । विधिको शासन हो । चुस्त दुरुस्त सार्वजनिक सेवा प्रवाहको कुरा हो ।’
उनले जेन जेड आन्दोलनको क्रममा भएका भएको सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको यकिन गरी त्यस कार्यमा संलग्नमाथि छानबिन गरी सरकारले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘सुशासन भनेको ठ्याक्कै रोड बनाएजस्तो त हुँदैन । तर जनताले महसुस हुने गरेर अगाडि बढ्ने र तेस्रो यो जति क्षति भएको छ । त्यसको छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने सरकारको प्राथमिकता हो । मुख्य काम सरकारको यही हो,’ उनले भने ।







