काठमाडौँ । कोशी प्रदेश सभाको सातौँ तथा चालु बजेट अधिवेशन अन्त्य भएको छ ।
गत भदौ १५ गते प्रदेश सभाको ४० औँ बैठक बसेको थियो । सो बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो ।
जेन जेड आन्दोलनका क्रममा २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालय जलाएपछि बैठक कहाँ राख्ने भन्ने अन्योल थियो ।
आगजनीबाट प्रदेश सभा भवन ध्वस्त भएको छ । सचिवालय भवन पनि प्रयोग गर्न नमिल्ने अवस्थामा छ।
अन्योलताकाबीच शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले आज रातिबाटै चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सभा भवन र सचिवालयका लागि विराटनगरमा कार्यालय खोजी गर्ने कार्य जारी छ ।
विराटनगरको वीरेन्द्रसभा गृह र कटहरी गाउँपालिकामा रहेको कृषि बजारको भवनमा सचिवालय र प्रदेशसभा भवन सञ्चालन गर्ने विकल्पको रूपमा प्रस्तुत भएको छ । तर निर्णय भइसकेको छैन।







