काठमाडौँ। मधेशका शक्ति पीठहरूमा खोइछ भर्ने महिला तथा लड्डु चढाउने श्रद्धालुको भीड लागेको छ।
बडा दसैँको सप्तमी र महाअष्टमीको अवसरमा महिलाहरूले शक्ति पीठहरूमा श्रद्धापूर्वक दुर्गा नव दुर्गा भवानीको ‘खोइछ’भर्ने गर्दछन्। जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा आज मध्यरातदेखि नै हजारौँ महिलाहरूले खोइछ भरेका छन्।
हजारौँ महिला खोइछ भर्न अझै पनि लाममा छन्। पति र सन्तान रक्षा तथा चिरायुको कामना गर्दै महिलाहरूले सप्तमी र महाअष्टमीको दिन खोइछ भर्ने गर्दछन्।
खोइछ भराइमा शक्ति पीठहरूमा चुन्दरी ओच्छयाएर त्यसमाथि पान, सुपारी, सिन्दूर, चुरा, फलफूल र अन्य पूजा सामग्री राखेर महिलाहरू विशेष पूजा गर्ने गर्छन्।
चुन्दरीमा सबै सामग्री बाँधेर माताको खुट्टामा चढाइउने विधिलाई ‘खोइछ भराइ’ भनिन्छ।
जनकपुरधामको राजदेवी धनुषाकै रामानन्दचोकसहित मधेशका शक्ति पीठहरूमा हिजैदेखि खोइछ भर्ने महिलाको भीड छ। यस्तै अन्यले भने सप्तमी र अष्टमीमा भने लड्डु समेत चढाउने गरिन्छ।







