काठमाडौँ । सभामुख देवराज घिमिरेले इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको भएको प्रति दुःख व्यक्त गरेका छन् ।
जोशीको निधनले अत्यन्त दुस्खी र मर्माहत बनाएको भन्दै सभामुख घिमिरेले भनेका छन्, ‘जोशीको निधनले केवल उहाँको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई गहिरो पीडा दिएको छ ।’
अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो ।
सोमबार हमासले उनीसहित ४ जनाको मृत्यु पुष्टि गर्दै शव बुझाउन लागिएको जानकारी दिएको थियो । इजरायलमा मंगलबार डीएनए परीक्षणपछि इजरायली सेनाले जोशीको मृत्युको औपचारिक पुष्टि गरेको छ ।
सभामुख घिमिरेले आफूले विगतमा जोशीको रक्षार्थ पहल गरेको स्मरण गर्दै कूटनीतिक पहल भए पनि परिणाम दुःखद आएको बताएका उनको सचिवालयले जनाएको छ ।
‘विपिनको जीवन रक्षाका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल-यमाहीलाई पत्र लेख्दै विशेष पहल गरिदिन अनुरोध गरेको थिएँ । सभामुखको तर्फबाट पनि विभिन्न संसदीय फोरमसँगै कूटनीतिक पहल भए पनि परिणाम दुखद हुन गएको छ,’ सभामुख घिमिरेले भने ।
देशका लागि ज्ञान, सीप र अनुभव लिएर फर्कन सपना बोकेका युवाको असामयिक बिदाइ हृदयविदारक रहेको भन्दै सभामुख घिमिरे जोशी परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
साथै उनले नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूले आगामी दिनमा इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षामा अझ प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन् ।







