काठमाडौँ । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको छ ।
मिथिलाको प्रमुख पर्वको रूपमा मानिने छठका लागि यहाँका पोखरी, नदी, तलाउहरूमा तयारी सुरु भएको जलेश्वर नगरपालिका-५ का संस्कृतिविद् ध्रुव रायले जानकारी दिए ।
सूर्य भगवान् तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाइ, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको जलेश्वर नगरपालिका-८ का वडा अध्यक्ष विजयकुमार सिंहले बताए ।
मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ । मिथिलावासीहरू यस पर्वलाई धूमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी सुरु गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बताए ।
सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका-८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफाबाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए ।
जलेश्वर नगरपालिका-१स्थित वरुण सरोवरमा पनि छठ पर्वको लागि चारैतिर ठूल-ठूला पंडाल, रंगीचंगी साजसज्जा भइरहेको वडा अध्यक्ष अनिल झाले बताए ।
यसैगरी जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायतका स्थानमा नदीमा छठ पर्व मनाउने चलन रहेकाले ती स्थानका नदीहरूमा धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताए ।







