काठमाडौँ । सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारवाहीको माग गरी प्रहरीमा जाहेरी दिने भएको छ ।
गत आइतबार सबै न्यायाधीश पूर्ण बैठक (फूल कोर्ट) को बैठकले प्रहरीमा जाहेरी दिने निर्णय गरेको हो ।
जाहेरी लेख्ने क्रम चलिरहेको र भोलिसम्ममा जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर जाहेरी दर्ता हुने सर्वोच्च अदालत स्रोतले जनाकारी दिएको छ ।
आइतबारको फूलकोर्टको बैठकले सर्वोच्च सहित देशभरको अदालतमा आगजनी र क्षति गर्नेलाई कारवाहीको माग सहित कानूनी उपचार खोज्नुपर्ने निर्णय गरेको थियो । तर जाहेरी दिने काममा न्यायाधीश नभई सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू संलग्न हुनेछन् । सम्भवतः मुख्यरजिष्ट्रार वा रजिष्ट्रारहरूको नामबाट जाहेरी पेश हुनेछ ।
जेनजी आन्दोलनमा भएको दमनको भोलीपल्ट देशव्यापी रूपमा भएको तोडफोड र आगजनीका कारण रामशाहपथस्थित सर्वोच्च अदालत आगजनीले ध्वस्त भएको थियो । करिब तीन दिनसम्मको आगोले अदालतमा विचाराधीन करिव २० हजार मुद्दाका फाइल जलेका छन् भने फैसला भइसकेका एक लाख ९७ हजार फाइल नष्ट भएका छन् ।







