दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपांगमैत्री भवन निर्माण गरिएको छ ।
रु. एक करोड ५३ लाखमा आठ कोठाको दुई तले अपांगमैत्री भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले जानकारी दिए । गैरसरकारी संस्था छाया नेपालको ८० प्रतिशत र तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत दागतमा भवन निर्माण गरिएको उनले बताए ।
शारीरिक अपांगता भएका विद्यार्थीको पठनपाठनमा समस्या भएपछि उक्त भवन निर्माण गरिएको प्रधानाध्यापक ओझाले बताए । “विद्यालयमा शारीरिक अपांगता भएका विद्यार्थीका लागि छात्र बाससहित अध्यापन हुने गर्छ, तर अपांगमैत्री भवन नहुँदा निकै समस्या भएको थियो, अब सहज हुनेछ”, उनले भने ।
बुधवार भवन उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अपांगता भएका विद्यार्थीको सहजता र शिक्षामा पहुँचका लागि पालिकाले काम गरिरहेको बताए । तुलसीपुर अपांगता अध्ययन केन्द्रका व्यवस्थापक यज्ञबहादुर विकले अपांगमैत्री भवन नहुँदा विद्यार्थीले भोग्नुपरेको सास्ती अब समाधान हुने बताए । उक्त विद्यालयमा १२ जना अपांगता भएका बालबालिकालाई छात्र बासमा राखेर अध्यापन गर्ने गरिएको छ ।







