काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले एक साताको लागि संसद् पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संसद पुनर्स्थापना गरेर जेन जेका माग पूरा गर्न सकिने उनले दाबी गरेका छन् ।
भण्डारीले पार्टी केन्द्रीय समिति बैठकमा काँग्रेस सम्मिलित सरकार भएको बेला भएको जेन जेड आन्दोलनले पार्टीलाई लाज हुनुपर्ने बताए । काँग्रेस सहभागी सरकार भएको बेलामा जेन जेडले गरेको तयारी र भदौ २४ को विध्वंसको ख्याल सरकारलाई नहुनुलाई उनले आश्चर्य व्यक्त गरे ।
भण्डारीले भने, ‘यसमा आफैँले लाज मानेका छैनौ यो सबैभन्दा ठूलो दुर्भाग्य हो ।’
नेकपा कालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा काँग्रेस त्यसको पक्षमा रहेर चुनावमा जानुपर्ने विचार राखेको पार्टी बैठकमा बताए ।
‘केपी ओलीले चुनाव गर्दा चुनावमा जाउँ भनेँ । शेरबहादुर देउवा सभापतिलाई सम्झायौँ । तपाईँहरू सबैले घेरेको होइन ?,’ भण्डारीले भने । त्यतिबेला चुनाव हुँदा कम्युनिस्टहरू विभाजित रहेकाले बहुमत काँग्रेसको आउने दाबी उनले गरेका छन् ।







